सप्तरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, सगरमाथा अञ्चलमा पर्ने जिल्ला हो। यो जिल्लाको पूर्वमा सुनसरी, पश्चिममा सिराहा उत्तरमा उदयपुर जिल्ला तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन्।
सप्तरी नेपालमै विशिष्ट पहिचान बोकेको जिल्ला हो । कुनै समयमा तिरहुत राज्यको एउटा महत्त्वपूर्ण भाग मानिएको यस जिल्लामा विभिन्न जातजातिको साझा बसोबास रहदैआएको छ । देशमै सबभन्दा बढी अर्थात् एक सय चौध गाविस र र एक नगरपालिका रहेको यस जिल्लामा हिन्दु, बौद्ध र इर्साई धर्म मान्नेहरूको सघन बस्ती रहेपनि छिटफुट रूपमा आफ्नो इच्छाअनुसार क्रिश्चियन लगायतका धर्म मान्नेहरूको पनि बसोबास रहेको छ ।
समुद्री सतहदेखि ६४ देखि ४ सय ५७ मिटरको उचाइमा अवस्थित यस जिल्लाको कुल क्षेत्रफल १ हजार ३ सय ५९.२८ वर्ग किलोमिटर रहेको छ । यहाँको तापक्रम ७ देखि ४० डिग्री रहने गर्दछ । सप्तरी जिल्लाको औसत वर्षा १ हजार ३ सय ३६ देखि १ हजार ८ सय ३५ मि.मि. सम्म हुने गर्दछ । पूर्व(पश्चिम लम्बाइ ४३ किलोमिटर तथा उत्तर दक्षिण चौडाइ २३ किलोमिटर रहेको छ भने तर्राई भू-भागले ६३ प्रतिशत तथा चुरे भू-भागले ३७ प्रतिशत भूमि ओगटेको छ । यस जिल्लालाई ६ ओटा निर्वाचन क्षेत्र र १७ ओटा इलाकामा विभाजन गरिएको छ ।
